Saturday, January 31, 2015

मध्यरातमा पागलसंग भीडन्त २

(मध्यरातमा पागलसंग भीडन्तको पहिलो भाग पढ्न यहाँ क्लीक गर्नुहोला। ) 

म फुर्तिसाथ उठ्न खोजें तर पागल तिब्र गतिका साथ म तिर आयो र म माथि झम्ट्यो ।  

दिमागले धोका दिएको भएपनि पागलको शरीर पुरै बलशालि नै थियो, एकदम हट्टाकट्टा, खाइलाग्दो।  (पछी हामीले थाहा पायौं , पागल त सद्दे हुन्जेल कराँते खेलाडी पो रहेछ। जिल्लास्तर सम्म पुगेको।) 

अजङ्गको ज्यान म माथि खनीएपछि म हलचल गर्नै नसक्ने स्थितिमा पुगेँ।  अब दिदिहरु कराउन थाल्नु भो र आएर पागल माथि झम्टिनु भो, तर पागलको चंगुलबाट न मलाई उम्काउन सक्नु भो, न मैले नै सकेँ।

म निशास्सीसकेको थिएँ।  हात यताउता छामछुम गर्छु, इट्टा रहेछ नजिकै, हातमा त्यहि पर्यो।  आफुलाइ  सारै गारो पर्दा मान्छेको बिबेकले काम नगर्ने रहेछ। मैले केहि नसोची पुगेजतिको बल लगाएर इट्टाले बजाइदिएं टाउकोमा।

अब कराउने पालो पागलको थियो। पागलले मलाई छोड्यो र कराउदै पर गएर बस्यो।

उता दिदिहरु यत्तिकै मान्नेवाला थिएनन्। जुनेली उज्यालोमा जे भेट्यो तेही पागल तिर झट्टि हान्न थाले। पागल लाचार भएर रुदै चिच्याउदै पर  खेत तिर लाग्यो।

त्यतिबेला सम्म पागलका परिवारका मान्छेहरु आइपुगे। दुइ जना गएर उसलाई समाते र घर तिर लागे।

एकछिन पछि हामीपनि आफ्नो आफ्नो कोठा तिर लाग्यौं र सुत्यौं।

(अँ, येतिन्जेल मैले भन्न बिर्सें।  त्यत्रो मल्लयुद्ध हुन्जेल घरबेटीहरु चाही कोहि आएनन।झगडा शान्त भैसके पछि बोलाउन जाने कुरा भएको थियो तर पागल फर्किसकेको हुनाले हामि होस् भनेर आआफ्नो कोठामा गएर सुत्यौं। )

भोलिपल्ट ढिलै  उठियो, कर्णहरु पनि ढिलै उठेछन।

ट्वाइलेट घरबेटी र हाम्रो साझा थियो।  ट्वाइलेट जाँदा घरबेटी आन्टी भेट्टिनु भो र हिजो रातिको घटना बारे सोध्नु भो।

मैले उहाले थाहा पाउनु भएन र भनेर मैले छक्क पर्दै सोधेँ।  उहाँले आफुहरु कसैले पनि केहि नसुनेको र थाहा नपाएको बताउनु भो।

मैले सोधें " अहिले चाही कसरि थाहा पाउनु भो त?'

भएछ के भने, त्यो दिन बिहानै टोलमा हल्ला फैलेछ, योगीको घरमा बस्ने बिद्यार्थीहरुले मान्छे कुटे भनेर। अनि के थियो सबै टोलबासी जम्मा भएछन, हामीलाई ठिक पार्नु पर्छ भनेर।

कुरो बुझ्दा मामला पुरै साम्प्रदायिक रंगमा ढली सकेको रहेछ। अधिकांश युवापंक्ति सिधै हाम्रो कोठामा गएर हमला बोल्ने विचारमा रहेछ। बुढाहरु चाही कुरो बुझ्ने अनि मात्र कारबाही गर्ने मनस्थितिमा रहेछन।

पर्यो फसाद।

कर्णलाइ बेलिबिस्तार लगाएँ। उ डराउन्न, परेको बेहोर्छु भनेर उफ्रिन थाल्यो।

घरबेटी अङ्कल बिरामी हुनुहुन्थ्यॊ, पुरै बेड रेस्टमा। उनका भाइलाई कुरो यस्तो हो बुझाइदिनुस भनेर भन्न गएको। उ के भन्छ: यिनीहरु कुरो बुझ्दैनन, तिमिहरुआफ्नो साथीहरु या अरु कोइ मान्छे बोलाउ अनि तर्सिन सक्छन रे।

हामीलाई लड्नु थिएन। के भएको हो भनेर उनीहरु लाइ बुझाउनु थियो।

यसो गेट बाहिर हेरेको, बाहिर १०-१२ जना पुरै आक्रामक मुडमा भित्र हेरेर बसिरा'रैछन। कुरो गर्न जाउँ, बुझ्ने जस्तो कोहि छैन उल्टै त्यँहीनेर बजाउने हुन् कि भन्ने डर, नजाउँ, कहिले सम्म घरभित्रै बस्नु।

कर्णसंग मोबाइल थियो, भर्खर भर्खर नेपालगंजमा सुरु भएको प्रिपेड।

गेटनजिक गएर ठुल्ठुलो स्वरमा  फोनमा कुरा गर्न  थाले।

"हेल्लो, चारबाहिनी ब्यारेक हो?…………………………….  त्याँ हरि क्याप्टेन  सापलाइ पाउँ न। ……………………हरि मामा हो? मामा, म कर्ण बोलेको। हेर्नु न याँ यस्तो यस्तो भो.……………हाम्रो केहि गल्ति छैन, तेइ पनि हामीलाई पिट्ने भनेर गेट बाहिर कुरी बसेका छन्.………… हजुर आइदिनु पर्यो।
…………………………….
हस मामा।…………………………….
ओके मामा।…………………………….
……………………………. राख्छु मामा। नमस्ते मामा।"

बाहिरको भींड केहि डराएजस्तो लाग्यो।
कर्ण फोन बोकेर भित्र आयो।  बाहिरको भिड हामीले नबुझ्ने गरि गुनगुन कुरा गर्न थाल्यो।

आधा घण्टा तेतिकै बित्यो।

अकस्मात एक हुल आर्मीको गस्ती आइपुग्यो, छड्के बन्दुक तेर्साएर, बिस्तारै हिड्दै।

कर्णको फोनले काम गरेछ भनेर हामी दङ्ग पर्यौं। घर अगाडिको भिड भागाभाग भयो।

आर्मी बिस्तारै आए, गेट अगाडी एकछिन रोकिए २-३ मिनेट जसो, अनि केहि नभनी परसपुर तिर लागे।

अब खतरा टरिसकेको जस्तो लाग्यो। हामिले सन्तोषको श्वास फेर्यौं।

केहि छिन पछि कर्णजी हाम्रो कोठामा आए, उनको अनुहारको खुसि प्रस्ट थियो: बिजेताको, संकटमोचकको।

मैले भने: "कर्णजी, तपाइको मामाले ठुलो सहयोग गर्नु भो यार। तर तपाइको मामा क्याप्टेन हुनुहुन्छ भन्ने हामीलाई थाहानै थिएन। "

कर्णजी मुसुक्क हाँसे। केहि बोलेनन्।

मैले भने, तपाइंको मामा संग हामीलाई पनि भेटाउनुस यार।

कर्णजी मुसुमुसु हास्दै   "मामा क्याप्टेन होइनन यार। यो हेर्नुस।" भन्दै मोबाइल थमाए।

मोबाइलको रिसेन्ट कलमा डायल गरिएको नम्बर थियो :

१४१४




(पटाक्षेप: आर्मी आफ्नो रेगुलर गस्तीमा आएका रहेछन, तर हामि बस्ने घरको गेट अगाडी किन तेसरी २-३ मिनेट रोकेर हेरे, त्यो मलाई अहिले सम्म थाहा छैन। र त्यसदिन पछि हामि ब्याचलर नसकुन्जेल त्यहि घरमा बस्यौं, बिना कुनै ब्यबधान। बिना कुनै अवरोध। )


Share/Bookmark

Friday, November 8, 2013

फाटफुट सम्झना - मध्यरातमा पागलसंग भीडन्त-१

पुराना सम्झनाहरु  याद गर्दा कस्तो रमाइलो लाग्ने कहिलेकाहिँ, तर कहिलेकाहीं भने किन त्यस्तो गरियो होला भनेर ग्लानी अनुभव पनि हुने।

यस्तै रमाइला सम्झनाहरु मध्य नेपालगंज बसाई ताकाका धेरै स्मरणीय यादहरु छन्, ति मध्ये मध्यरातमा एक बहुला संग भएको भिडन्त प्राय: याद आइरहन्छ।

२०६३ सालको सुरुवाती बेला थियो सायद,हामी (दिदि र म) भृकुटीनगरको कोठा अलि चित्त बुझ्दो नलागेर आदर्शनगर (पुरानो नाम -गडेनपुरुवा)  सरेका थियौँ। कोठा अलि भित्र पर्दथ्यो, मधेसी बस्तिको बिचमा, घरबेटी चाही योगी थरका थिए।  घरबेटी पनि असल भएका र कोठापनि तुलनात्मक रुपमा राम्रो भएकोले हामी चाही दङ्ग परेर बसेका थियौँ।

हमी बस्ने घर संगै हाम्रा घरबेटीका भाईको पनि घर थियो, तर दुवै घर बीच पर्खाल त्यस्तो केहि थिएन ठुलो आँगन थियो।  आँगनको बिचमा नल  थियो घरबेटीका भएको स्वामित्वमा पर्ने।  हाम्रा घरबेटीको मा धारा भएता पनि हामी सबै उनका भाइको धाराको  पानि खाने गर्दथ्यौं , चिसो र मिठो पानि आउने हुनाले।  त्यहि घरमा बर्दिया ठाकुरद्वाराका एक साथी बस्दथे, कर्ण भन्ने। मेरो जस्तै उनीहरुपनि दिदि र भाई बस्दथे र साथमा दिदीकी मितिनी पनि थियिन। हामी सबै नेपालगन्ज बहुमुखी क्याम्पसका पढ्नेहुनाले र हाम्रो घरपनि नजिकै नजिकै पर्ने हुनाले हामी सबैको दोस्ती जम्न तेती बेर लागेन।

दिनहरु रमाइला थिए, क्याम्पस बन्द थियो, जन आन्दोलन- २  चलिराखेको थियो।  दिदिहरुलाइ चाही कोठामै बस्ने उर्दी जारी गरेर हामी केटाहरु जम्मा भएर दिन भरि आन्दोलनमा हिड्यो, साझ परेपछि लुरु लुरु कोठा फर्कियो, दिनहरु यसरीनै बितिरहेका हुन्थे।

सधै झैँ थाकेर त्यो दिन म अलि चाडै सुतेको थिए। म संग मेरो जिग्री साथी कृष्ण पनि थियो त्यो दिन। हामी दुइ भाई मस्त निद्रामा थियौं, अचानक मध्यरातमा दिदि मलाई उठाउन आउनु भो, झाँगलझुंगल पारेर मलाई आत्तिदै उठाउनु भो, उहाँको व्यवहारमा आतंकको छाया प्रस्ट देखिन्थ्यो। कराउदै भन्नु भो " बाबु हेर त, बाहिर कर्णलाइ कुन्नि कसले कुट्दै छ। " मैले पनि यसो बाहिर आँगनमा हेरेको, जुनको छायामा दुइ आकृतिहरु लडीरहेका थिए, र केहि नारी आवाजहरु , जुन कर्णका दिदिहरु थिए, चिच्याउदै थिए।

ठुलै अनिष्टहुन लागेको आसंकामा हामी  हतारिदै बाहिर तिर कुद्यौं , दिदि पनि हाम्रो पछि पछि आउनु भो। बाहिर कर्ण र एक कालो बर्णको अग्लो मान्छे पुरै भिडिरहेका थिए।  पुग्ने बित्तिकै यो झगडाको कारण बुझ्नु भन्दा पहिला हामी झगडा छुट्टयाउन तिर लाग्यौं र हामी सबै  मिलेर त्यो कालो बर्णको मान्छेलाइ कर्णबाट छुट्याएर समाएर राख्यौं तर कम्ता गारो परेन हामीलाई छुट्टयाउन।

जेनतेन कुस्ती छुट्ट्याएर त्यस्को कारण बुझ्न तिर लागियो। खासमा त्यो कालो वर्णको मान्छे छिमेकको मानसिक सन्तुलन गुमाएको मान्छे रहेछ र कुन्नि कुन सुरमा हो, कर्णहरुको घरि ढोकामा घरि झ्यालमा गएर ठक ठक गर्ने रहेछ। कर्णले बाहिर निस्केर धपाउन के खोजेछ, उसले सिधै उसलाई झम्टेछ।

पागलले जे गर्नु गरिसकेको थियो, अब उसलाई उस्को घर तिरै धपाउनु श्रेयस्कर थियो। तर पागल हट्न माने पो। केहि गर्दा पागल नहटे पछि उसका आफन्तीहरुलाई बोलाएर जिम्मा लाउनु पर्ने भो।  हामीले घर देखेका थिएनौ, कर्णले देखेको रहेछ, अनि उही लाग्यो पागलको घरतिर मध्यरातमा।

यता पागल केहि क्षण शान्त भएर बस्यो। कृष्णले र मैले पागललाई समाएरै राखेका थियौं तर उ शान्त भयो भन्ठानेर हामीले उसलाई  केहि छोडी दियौं।  पागल लुरुक्क परेर भुइँमा बस्यो सुँक्क सुँक्क रुदै , निरिह  रुपमा। जूनको हल्का उज्यालोमा उसको मुखबाट हल्का रगत बगिरहेको थियो, सायद कर्णको मुक्का भेटेर होला।

घाइते पागल निष्क्रिय भयो भन्ने ठानेर हामिले उसलाई छोडेर केहि पर गएर उभियौं र के भएको थियो भनेर बृस्तितमा बुझ्न थाल्यौं।  तर पागल हार मान्नेवाला थिएन।  रुँदै गरेको पागल जुरुक्क उठ्यो, के गर्न थाल्यो भनेर हामीले केहि सोच्न नभ्याउदै सिधै एक झापड मलाइ जमाई हाल्यो।

मलाई रनन्न भयो। मध्यरातमा झलक्क घाम लाग्यो मेरो गालामा।

रिसले मेरो पारो तात्यो। मेरो पालो, मैले पनि बुरुक्क उफ्रेर एक लात दिएँ।  पागल ढुनमुनिदै लड्यो।  पागल त लड्यो, राति भएर शीत परेर होकी, आँगन चिप्लो थियो, म पनि शरीर सन्तुलन राख्न नसकेर लडें।

पागल येत्तिकै मान्ने वाला थिएन। लडेको पागल बिजुलीको गतिमा जुरुक्क उठ्यो, म उठ्न नपाउदै सिधै आएर म माथि झम्ट्यो।

क्रमश :

पढ्नुहोस मध्यरातमा पागलसंग भिडन्त २ 






Share/Bookmark

Thursday, November 7, 2013

आफ्नै गन्थन

लेख्ने बानी बसाल्ने मेरा थुप्रा प्रयत्नहरु सधै तुहिरहे, कारण अरु केहि थिएन सिवाय मेरो अल्छी पना। मन मनमा जतिसुकै  अब देखि लेख्छु भनेर प्रण गरेपनि, कहिले-के-कसरि लेख्ने भनेर नक्सा चित्र मन-मनै उतारेपनि लेख्ने प्रयास गर्ने (पुनः  जोड दिन चाहन्छु, लेख्ने होइन लेख्ने प्रयास गर्ने) जाँगर मलाई कहिले पनि चलेन  र यस्तै चलिरह्यो जिन्दगी।

तर अब हुनेछैन पहिला जस्तो, लाग्ने छैन मलाई अल्छी पहिला जस्तो। मलाई थाहा छ, म राम्रो र मन छुने गरि लेख्न सक्ने छैन सुरुमै, तर निरन्तर प्रयास गरे भने एक न एक दिन किन राम्रो लेख्न नसकुला, किन अरुको मन जित्न नसकुला।  पक्कै पनि  सक्छु होला यदि निरन्तर प्रयास गरे भने।

यसो विचार गरेर ल्याँउदा लेख्न तेती गारो पनि छैन जस्तो ल ग्छ, प्राबिधिक हिसाबमा भन्दा।  कारण यदि कापीमा लेख्न गारो छ भने सजिलै कम्प्युटरमा लेख्न सकिन्छ, पहिला जस्तो नेपाली टाइप नसिकिकैकन, एउटा युनिकोड इन्स्टल गरे  पुग्यो।  लेख्न गारो छ त रचनात्मक हिसाब ले मात्र। मन छुने गरि लेख्न सृजनशिलता अत्त्यावश्यक छ जुन यदाकदा कसैमा बाल्यावस्था बाटै आएपनि धेरैको हकमा चाही उही मेहनत बाटै  आँउछ।

गफै त हो :D



Share/Bookmark